Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


पश्चिम एशियामा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा ठूलो असर

युद्धका कारण ठूला तेल कम्पनीको शेयर भने हालसम्मकै उच्च बिन्दुमा पुग्याे

598
Shares

एजेन्सी । पश्चिम एशियामा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ ।

यद्दपि इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि तेलको आपूर्तिमा संकट निम्तिँदा विश्वका ठूला तेल कम्पनीका शेयर भने बढेर ऐतिहासिक उचाइमा पुगेकाे हाे । युद्ध शुरू भएको दुई हप्ताभित्रै विश्वका ६ वटा प्रमुख तेल कम्पनीहरूको बजार मूल्य करिब १३० अर्ब अमेरिकी डलर भन्दा बढीले बढेको बेलायती अखबार ‘द गार्जियन’ ले जनाएको छ । विशेषगरी बेलायतका ठूला तेल कम्पनीका शेयर विशेषगरी तीव्र रूपमा बढेकाे जनाइएकाे छ । लन्डन स्टक एक्सचेन्जमा सूचीकृत शेल कम्पनीको बजार मूल्य करिब १ सय ९० अर्ब पाउन्ड पुगेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको खबरमा उल्लेख छ । युद्ध शुरू भए यता यसको शेयर मूल्य करिब १२ प्रतिशतले बढेको हाे।

त्यस्तै, एक्स अन मोबिलको बजार मूल्य करिब ६ सय ३० अर्ब डलर पुगेको छ। चेभरनको मूल्य पनि करिब ३ सय ९० अर्ब डलर पुगेको हाे । युद्धका कारण विश्व बजारमा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ । अन्तर्राष्ट्रिय मानक अनुसार तेलको मूल्य प्रति ब्यारेल १ सय १७ डलर पुगेको थियो । अहिले करिब १ सय डलरमाथि कारोबार भइरहेको छ । ऊर्जा आपूर्ति अवरुद्ध हुने चिन्ताले बजारमा अस्थिरता बढेको विश्लेषकहरूले बताएका छन् ।

यसैबीच जलवायु अभियान समूहले युद्धका कारण तेल कम्पनीहरूले अत्याधिक नाफा कमाइरहेको भन्दै सरकारहरूलाई अतिरिक्त नाफामा कर लगाउन माग समेत गरेको हाे । यदि पश्चिम एशियामा लामो समयसम्म तनाव रहि रह्यो भने तेलको मूल्य अझै बढ्ने र ऊर्जा बजारमा थप अस्थिरता आउने विश्लेषकहरूकाे अनुमान छ।