Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


ललितपुर-३ मा अशोककुमार महर्जनको स्वतन्त्र उम्मेदवारी, घरदैलो अभियान तीव्र


221
Shares

ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अशोककुमार महर्जनले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

टोल–टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्ना एजेन्डा र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन्।

घरदैलो अभियानका क्रममा महर्जनले नागरिकका गुनासा सुन्ने, पुराना समस्याबारे छलफल गर्ने तथा समाधानका उपायबारे सुझाव संकलन गर्ने कार्यलाई प्राथमिकता दिएका छन्। स्थानीयवासीले विशेषगरी सडक विस्तार, खोला मापदण्ड, मल पोखरी, सैँवु आवास क्षेत्र तथा वातावरणीय समस्याबारे चासो व्यक्त गरेको जनाइएको छ।

महर्जनले दलगत राजनीतिले जनअपेक्षा पूरा गर्न नसकेको अवस्थामा स्वतन्त्र र स्वच्छ छवि भएका नागरिक अघि आउनुपर्ने आवश्यकता औंल्याएका छन्। “राजनीति व्यक्ति वा दलको अहंकारका लागि होइन, देश र जनताको हितका लागि हो,” उनले घरदैलो कार्यक्रमका क्रममा बताएका छन्।

घरदैलो भेटघाटका क्रममा उनले आफ्नो आठ बुँदे प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्। जसमा पुराना स्थानीय समस्याको समाधान, वातावरणीय नीतिगत सुधार, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, मौलिक र आत्मनिर्भर विकासको अवधारणा, नयाँ पुस्ता केन्द्रित राजनीतिक सशक्तिकरण, राष्ट्रियता पहिलो भन्ने अभियान, समानता र सहअस्तित्वको नीति तथा भ्रष्टाचारविरुद्ध जनसहभागितामूलक पहल समावेश छन्।

महर्जनले जनतासँग प्रत्यक्ष संवादमार्फत विश्वासको वातावरण निर्माण गर्न आफू सक्रिय रहेको बताएका छन्। उनले ‘आँखीझ्याल’ चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्। ललितपुर क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारको सक्रिय घरदैलो अभियानसँगै चुनावी माहोल थप तातेको छ।

Skip This