काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गर्नुभएको छ ।
मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षकै सांसदहरू सरकारमाथि बढी आक्रामक देखिएको उल्लेख गर्दै यसले प्रतिपक्षको भुमिका ओझेलमा पर्न थालेको बताउनुभएको हो ।
उहाँले सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री र प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा जोड दिनुभयो । सरकार गठन भएको चार महिना बितिसक्दा पनि कुनै ठोस गति लिन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । जनताले स्थिरता र विकासका लागि नयाँ शक्ति र वर्तमान गठबन्धनलाई विश्वास गरेको स्मरण गराउँदै उहाँले सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न र डेलिभरी दिन सुझाव दिनुभयो ।
सांसद राईले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘अहिले प्रतिपक्ष ओझेलमा परेको जस्तो देखिन्छ । सत्ता पक्षले नै प्रतिपक्षको जागिर खोसेर खाइदिन खोज्दैछन् । सरकारलाई हामीले भन्दा कडा प्रश्न सत्ता पक्षकै माननीयहरूले सोधिरहनुभएको छ । सरकारले गति लिन नसकेको र आफ्नै सांसदहरूको चित्त बुझाउन नसकेको अवस्था छ ।
दुई तिहाइ नजिकको बहुमत भएको सरकारले सही ढंगले काम गर्नुपर्छ । यस्तो खिचातानी र नैराश्यता देखिनु जनताका लागि दुर्भाग्य हो । हामी चाहन्छौँ यो सरकार टिकोस् र काम गरोस् । तर चार महिना नपुग्दै मान्छेहरूमा नैराश्यता आउनु सुखद् संकेत होइन ।’ मुलुकमा देखिएको ग्यास अभाव र बजारका समस्याबारे बोल्दै सांसद राईले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयाे ।









प्रतिक्रिया दिनुहोस्