Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार : मन्त्री गाैतम


169
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ ।

ललितपुरमा शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्ताे बताउनुभएकाे हाे । स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको समेत जानकारी दिनुभयो । उहाँले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । सरकारले रुखबाट पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्रोत सुनिश्चित नभई जति मन लाग्यो त्यति सेवा दिँदै जाँदा प्रणालीमा समस्या आएको उहाँको तर्क छ ।

मन्त्री गौतमले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभुत अधिकारका रूपमा व्याख्या गरेको र यसको कार्यान्वयनको एकल जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्नुभयो । स्थानीय तहले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँच योग्य बनाउनुपर्ने धारणा राख्नुभएकाे छ । स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँड आवश्यक रहेको उल्लेख गर्दै उहाँले बीमा बोर्डलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।