काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनासहित विभिन्न कारणले ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको हो । हटाइएकामध्ये प्रदेशसभा बन्दसूचीमा नाम कायम भएका २५ जना छन् भने आयोगको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि हटाइएको छ ।
यस्तै, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको कोटामा पुरुष उम्मेदवार पेश गरिएको १, राजनीतिक दलको अनुरोधमा हटाइएका १० तथा अन्य कारणबाट २ जनाको नाम सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यससम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको पनि आयोगले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्