पोखरा ।
पोखरामा आगामी शनिबारदेखि साफ अन्डर १९ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ १७ देखी २४ गतेसम्म साफ महिला च्याम्पियनसिपको आयोजना हुन लागेको हो । च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
चार राष्ट्र नेपालसहित भारत, बंगलादेश र भुटानको सहभागिता रहने प्रतियोगिताको तयारी पूरा भएको एन्फाले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीहरु बिहीबार साँझसम्म पोखरा पुगेर लामाचौरस्थित गास्ते खेल मैदानमा प्रशिक्षण गर्नेछन् ।
माघ १७ गते विहान १२ बजे बंगलादेश र भुटानबिच पहिलो खेल हुनेछ भने भारत र नेपाल बिच ३ बजे दोस्रो खेल हुनेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा यम प्रसाद गुरुङ रहेका छन् ।
यस्तै दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेलले मैदानको स्तरोन्नति संगै प्लेयर बक्स, प्लेयर चेन्जिङ रुम, अफिसियल रुम फिफाको मापदण्ड अनुसार सुधार गरिएको उल्लेख गर्नुभयो । दुई वर्ष पछि पोखरामा नै साफ फुटबल ल्याउने गरि तयारी गर्न समेत उहाँले आग्रह गर्नुभयो । प्रतियोगिताका लागि साधारणतर्फ दुई सय र भीआइपी तर्फ पाँच सय रुपैया टिकट दर तोकिएको छ ।





प्रतिक्रिया दिनुहोस्