शंकर बरुवाल
रामेछाप ।
जिल्लामा निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले आइतबार निर्वाचन आचारसंहिता सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
जिल्ला अदालत रामेछापका न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागी हुनेमा नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, प्रवक्ता कुमार श्रेष्ठ, नेकपा (एमाले)रामेछापका सचिव प्रकाश कार्की, नेकपा (माओवादी केन्द्र) रामेछापका सचिवालय सदस्य हेमन्त पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि समीक्षा श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिबजी घिमिरे तथा उज्यालो नेपाल पार्टीका प्रतिनिधि रहेका थिए ।
यसैगरी बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, साथै जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । बैठकमा निर्वाचन आचारसंहिता कार्यान्वयन, प्रचार–प्रसारका मापदण्ड, सुरक्षा व्यवस्था तथा सरोकारवालाबीचको समन्वयका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र विश्वसनीय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा बैठकले जोड दिएको छ ।





प्रतिक्रिया दिनुहोस्