Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता


156
Shares

काठमाडौं ।

समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा आवेदन दिने राजनीतिक दलको संख्या एक सय पुगेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।

आयोगले गत यही आईतबारदेखि मंगलबारसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो ।

यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । आयोगमा प्राप्त आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ ।

आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ ।

उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।