काठमाडौं ।
झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ ।
हुलाकी राजमार्गमा पर्ने यो पुलको निर्माण १४ वर्षदेखि अलपत्र छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेवखिम्तीको संयुक्त उपक्रमसँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको हो ।
योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयले जनाएको छ ।
पक्की पुल डिजाइन एण्ड बिल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रमसँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपटक म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत असोजमा १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुल निरीक्षण गर्नुभएको थियो ।
त्यसपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको थियो । मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।





प्रतिक्रिया दिनुहोस्