Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


ऐतिहासिक पानढीकी टक्सार पर्यटक र सर्वसाधारणका लागि खुला गर्ने तयारी सुरु


234
Shares

विकास घिमिरे
धनकुटा
। धनकुटा सदरमुकाम सल्लेरीमा रहेको ऐतिहासिक पानढीकी टक्सार सर्वसाधारणका लागि खुला गर्ने तयारी सुरु भएको छ ।

तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.स. १९७८ सालमा सञ्चालनमा आएको पानीचक्कीबाट चल्ने यस टक्सारमा दुई र पाँच पैसाका ढ्याकहरू छापिने गरेका थियो ।

हाल यो टक्सार घर सल्लेरीस्थित नेपाली सेनाको भीमदल गण ब्यारेकभित्र रहेको छ । लामो समयदेखि ऐतिहासिक र सांस्कृतिक महत्वका कारण यसलाई सर्वसाधारण र पर्यटकका लागि खुला गर्नुपर्ने माग उठ्दै आएपछि अहिले भने यो पर्यटक र सर्वसाधारणका लागि खुल्ला गर्ने तयारी सुरु भएको हो ।

अहिले सम्म सुरक्षा संवेदनशीलताका कारण अहिलेसम्म सर्वसाधारण र पर्यटकका लागि भ्रमण वा अवलोकन खुला गरिएको छैन । यस वर्ष पुरातत्त्व विभागले टक्सार घरको संरक्षण र जिर्णोद्वारका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । हाल नेपाली सेना, पुरातत्व विभाग, जिल्ला समन्वय समिति, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरोकारवालाबीच यस विषयमा छलफल सुरु भएको छ ।

नेपाली सेनाको भीमदल गणका गणपति गणेश थापाले टक्सार घर मर्मतका काममा सेनाले सहजीकरण गर्ने बताए । तर संचालन मोडालिटी र सर्वसाधारणका लागि खुला गर्ने विषयमा विस्तृत छलफल र सेनाको लिखित अनुमति आवश्यक हुने उनले स्पष्ट पारेका छन् ।

त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले टक्सार घरको संरक्षण र संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन आवश्यक पर्ने बताए । साथै टक्सारको स्वामित्व र सञ्चालन कस्ले गर्ने भन्ने पनि प्रष्ट हुनु पर्ने खड्काको भनाई छ ।