Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


बजेट रोकिएकोप्रति सचिवहरुको गुनासो


390
Shares

काठमाडाैं । विकास मन्त्रालयका सचिवहरुले बजेट रोकिएकोप्रति गुनासो गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय सचिव केशव कुमार शर्माले खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकिएको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज सेको बैठकमा उहाँले राष्ट्रिय राजमार्गका १ करोडमाथिको शिर्षकका बजेट रोकिएको जानकारी दिनुभयो ।

उहाँले खर्च कटौतीले सबैभन्दा बढी साना सहायक सडकहरु परेको बताउनु भयो । खर्च कटौतीको कारणले २० अर्व रुपैयाँ रोकिएको उहाँको भनाई छ । उहाँले ३ करोड रुपैयाँ भन्दा कमका योजना रोकिने भएकोले राष्ट्रिय राजमार्ग कै रकम पनि रोकिएको कारण समस्या भएको बताउनुभयो ।

राष्ट्रिय राजमार्गमा १ करोडमा हुने कामलाई ३ करोड बजेट छुट्याउन नमिल्ने उहाँको भनाई छ । सडक विभागको पुँजीगत खर्चको प्रगति ९ दशमलब ६७ प्रतिशत रहेको छ । यातयात व्यवस्था विभाग र रेल विभागको प्रगति झनै कम रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा दुई लेन कालोपत्रे १२९ किलोमिटर, ४ लेन वा सोभन्दा बढीको कालोपत्रे ७ किलोमिटर, ग्राभेल सडक निर्माण ३३ किलोमिटर र नयाँ ट्रयाक २७ किलोमिटर निर्माण भएको जानकारी दिनुभयो । यस्तै, शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको छ ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयमा कुल विनियोजित रकमको ९१ अर्ब ३४ करोड रुपैयाँमध्ये हालसम्म ३ अर्व २२ करोड रुपैयाँ मात्रै खर्च भएको बताउनु भयो । मन्त्रालयको ठूलो रकम रोक्का रहेकोले योजना निर्माणमा समस्या भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार २ हजार १ सय ४० वटा कार्यक्रम रोक्का रहेकाछन् । असोज ५ अगावै वोलपत्र आह्वान भएको करिव ४ सय ४० वटा बोलपत्र पनि हाल रोक्का रहेको उहाँले जानकारी दिनुभयो । तीनै विकासे मन्त्रालय सम्हाल्नुभएका मन्त्री कुलमान घिसिङले पनि सबै आयोजना रोक्नु ठिक नहुने उल्लेख गर्दै विकास आयोजनाका बजेट फुकुवा हुनुपर्ने उल्लेख गर्नुभयो ।