Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


विदेशमा बस्ने नेपालीलाई मतदान गर्न पाउने कानून


377
Shares

काठमाडौं ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ ।

मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अध्यादेश ल्याउने तयारी गरिएको हो ।

गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । यो संशोधन भए विदेशमा रहेका नेपालीले समानुपातिकतर्फ मतदानमा भाग लिन पाउने छन् ।

मस्यौदामा नेपालभित्रै रहेका तर आफ्नो निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा रहेका नेपालीहरुलाई पनि समानुपातिकतर्फको मतदानमा भाग लिन दिनेबारे उल्लेख छैन । तर त्यसबारे पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ । कानुन मन्त्रालयका अनुसार सो अध्यादेश आवश्यक परिमार्जनपछि सम्बन्धित मन्त्रालयमा पठाइनेछ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि राष्ट्रपतिबाट जारी हुनेछ । त्यसलाई राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउनेछ । अध्यादेशको मस्यौदामा दूतावास वा नियोगलाई मतदान केन्द्र निर्धारण गर्ने प्रस्ताव छ । दूतावास वा नियोगमा कार्यरत कर्मचारी नै मतदान अधिकृत तोकिने छन ।

मतदाता नामावलीको प्रमाणीकरण पनि दूतावास तथा नियोगका कर्मचारीले गर्नेछन् । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोगको अवसर दिने कानुन बनाउन एक दशकअघि नै आदेश दिएको थियो ।