Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


‘शान्ताको अचार’ वीरेन्द्रनगर शाखामा आगलागी, करिब १५ लाखको क्षति


1.3k
Shares

सुर्खेत ।

वीरेन्द्रनगरस्थित नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ शाखामा आइतबार बिहान करिब ३ बजे आगलागी भएको छ ।

शुक्रबार मात्रै भव्य रूपमा उद्घाटन गरिएको नयाँ शाखामा भएको आगलागीलाई चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् ।

प्रहरीका अनुसार, करिब ३ बजेतिर नगरपालिका दमकलका चालकले पानी भर्न गणेशचोकतर्फ जाँदै गर्दा बजार क्षेत्रमा धुवाँ देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । सूचना पाएलगत्तै दमकल र प्रहरीले घटनास्थल पुगेर आगो नियन्त्रणमा ल्याएका थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार आगो अचार पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भएकाे देखिएकाे छ । आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । प्रहरी भने क्षतिको यकिन विवरण संकलन गर्दैछ ।

नेतृ चौधरीले सामाजिक सञ्जालमार्फत लेख्दै, “जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार शाखामा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु,” भनिन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग थापाले भने आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक निष्कर्ष रहेको जानकारी दिएका छन् ।