काठमाडौं ।
सरकारले आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार समिक्षा बैठक बसेको थियो । छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्श्तुतीकरण दिनुभएको थियो ।
उहाँको प्रस्तुतिपछि छलफलमा सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीले आ–आफ्नो टिप्पणी र सुझाव राखेका थिए । छलफलमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सम्बन्धीत सबैमा निर्देशन दिनुभयो ।
उहाँले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड छ ।
सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि प्रशासनिक नेतृत्वको भूमिका रहने भन्दै उहाँले आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता कायम गर्न जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ ।




प्रतिक्रिया दिनुहोस्