काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको जनाउनुभएको छ ।
बिहीवार प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाएपछि सिंहदरबारमा आफ्ना भनाइहरु राख्दै उहाँले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो प्रमुख ध्येय रहने बताउनुभएको हो । आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति आफू सचेत र सजग रहेको बताउनुभयो ।
नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । नेपाल प्रहरीको मनोबल उच्च राख्दै, सुशासन र जनअपेक्षाअनुसारको कार्यसम्पादन गर्ने उहाँको भनाई छ ।
उहाँकाअनुसार एकतर्फ प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनस्र्थापना तथा आसन्न निर्वाचनलाई दृष्टिगत गरी आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कातर्फ प्रहरीहरूको मनोबल उकास्न र जगाइराख्न पनि उत्तिकै जरुरी छ ।
हाल देशमा लागुपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका समस्या चिन्ताजनक रूपमा बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । यी चुनौतीहरू समाधान गर्न प्रहरी संगठनलाई भौतिक रूपमा सुदृढ र उच्च मनोबलयुक्त बनाउनपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो । सूचना प्रविधिको तिब्र विकास, अपराधका प्रवृत्तिमा आएको परिवर्तन र जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमताको विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्नु प्रहरी संगठनको साझा जिम्मेवारी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘देशमा सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतीहरु उठाउँदै गरेका प्रहरी संरचना र मनेबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी असाधारण गरेकोप्रति म जानकार र सजग रहेको छु ।
असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारी नेपाल सरकार, गृहमन्त्रालय, सुरक्षा निकाय, गैरकारकारी संघसंस्था एवं अन्य समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दे संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्दे, प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आम जनताको चाहनाअनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल प्रहरीलाई भौतिक रुपमा सुदृढ र उच्च मनोबल बनाउनुपनेछ ।
एकातिर भौतिक संरचनाहरुको पुनस्र्थापना र आसन्न निर्वाचनलाई दृष्टिगत गरी हातहतियार, सवारीसाधन लगायतका आवश्यक प्रवन्धहरुको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कोतर्फ प्रहरीहरुको मनोवललाई पनि जगाईराख्ने र वृद्धि गर्नुपर्ने उत्तिकै टड्कारो आवश्यकता छ ।
अपराध र सुरक्षा चुनौतीहरुका विषयमा पारस्पारिक प्रवित्तिहरुमा भएको परिवर्तन, सूचना प्रविधिमा भएको दु्रत विकास र सुशासनको जनअपेक्षा अनुरुपको उच्च मनोबलिकताको प्रहरी चरित्र र क्षमता निर्माण गरि प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो साझा आवश्यकता र दायित्व हो ।’
उहाँले प्रहरीलाई पोषणको कमी रहेकोले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाईदिनुभएको छ ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुभएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो ।
खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्