शशी कार्की
बेलायत । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाको कार्यसमितिबीच विविध विषयमा छलफल भएको छ।
बेलायतमा नेपाली कला र संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिएको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाका पदाधिकारी तथा सदस्यहरु र कार्यबाहक राजदूत दुवाडीबीच साेमबार संयुक्त छलफल भएको हो । सोही अवसरमा संस्थाको संरक्षण र बिकासका लागि कसरी विदेशमा रहेका नेपालीहरुलाई जोड्न सकिन्छ भन्ने कुरामा पनि गहन कुराकानी भएको थियो।
बेलायतमा रहेका अग्रज नेपाली, गैर-आवासीय नेपाली संघ आवद्ध व्यक्तित्वहरुले हिमालयन सेन्टर हाम्रो पहिचान, कला–संस्कृति र सामुदायिक कल्याणको प्रमुख आधार रहेको र यसलाई दिगो, सक्षम-समुदाय-केन्द्रित बनाउने मार्ग खोज्न दूतावाससँगको संवाद महत्वपूर्ण रहेको बताएका थिए।
विदेशमा नेपाल र नेपालीको पहिचानको महत्वपूर्ण थलो बनेको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर नामको संस्था रहेको भवन आर्थिक अभावका कारण जर्जर भएको अवस्थामा संस्थाको कार्यसमिति-स्थानीय नेपालीहरुबीच संस्थाको संरक्षण-बिकास एवं यसको महत्वलाई सधैभरी चिरस्थायी बनाउन २ लाख ५० हजार पाउण्ड संकलन गरिने प्रस्ताव पनि गरिएको संस्थाका निर्देशक शशी कार्कीले जानकारी दिनुभयो।
सोही अवसरमा गैर-आवासीय नेपालीका प्रतिनिधि,स्थानीय समाजसेवी लगायतले संस्थाको संरक्षणको अभिभावकत्व ग्रहण गर्न कार्यबाहक राजदूत दुवाडीलाई आग्रह गरेका थिए । दुवाडीले बेलायतमा रहेका नेपालीहरुसँग सहकार्य र समन्वय गरेर दूतावास अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो । संस्थाका अध्यक्ष मनिश खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिकी निर्देशक कमला श्रेष्ठले गर्नुभएको थियो ।
छलफलमा वाैद्धिक व्यक्तित्वहरु मोती खरेल, श्याम लिम्बु , सरोज राज जोशी तथा कार्यक्रममा सहभागीहरु गैरआवासीय नेपाल संघ (एनआरएनए) बेलायतका महासचिव दिवाकर पाण्डे, महिला उपाध्यक्ष कमला श्रेष्ठ,फाईफ कम्युनिटीका पूर्व अध्यक्ष राम बगाले , एनआरएनए बेलायतका पूर्वसचिव तारानाथ भण्डारी र एनआरएनए स्कट्ल्याण्डका पूर्वअध्यक्ष काशीराम भण्डारी लगायतले सस्थाको संरक्षणका बिबिध पक्षमा आ–आफ्नो भनाई राख्नुभएको थियो।
साेही शिलशिलामा दूतावालले आफ्नो एक दिने घुम्ति सेवा पनि साेमबारै ग्लास्गोमा सम्पन्न गर्दैछ।




प्रतिक्रिया दिनुहोस्