
काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि मंगलबार पहिलो पटक बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएकाे छ।
आन्दोलनकारीको आक्रमणमा परेपछि पहिलो पटक सार्वजनिक हुनु भएका देउवाले कार्यसमितिको बैठकमा सहभागी भएर पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी समेत दिनुभएकाे हाे । पार्टीभित्र नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने बहस भइरहेको समयमा कार्यबाहकको जिम्मेवारी दिनुले देउवा विस्तारै सक्रिय राजनीतिबाट ओझेल पर्न खोजेको संकेतको रुपमा हेरिएको छ ।
विशेष महाधिवेशन, नेतृत्व हस्तान्तरण लगायतका विषयमा कुरा उठिरहेका समयमा आन्दोलन पछि पार्टी बैठकलाई पहिलो पटक सम्बाेधन गर्नुभएका सभापति देउवाले १५औं महाविधेवेश विधान अनुसार नै हुने भन्दै नियमति महाधिवेशनतर्फ नै लाग्न निर्देशन दिनुभएको छ। आफू अब पार्टी राजीतिमा सक्रिय नहुने प्रष्ट संकेत गर्नुभएका देउवाले बृहत राजनीतिक छलफलबाट अहिलेको निकासको कुरा खोज्नुपर्ने भन्दै कार्यवाहकको जिम्मेवारी दिनुभयो ।
देउवाले कार्यवाहक दिने र नियमति महाधिवेशनमा जाने विषय राखिरहेकै समयमा संस्थापन इतर पक्ष भने विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएको बहुमत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाउने काममा लागिरहेको थियो । यसबाट देउवाले राखेका धारणा र महामन्त्री लगायतले नेतृत्व हस्तान्तरणका लागि चाल्न खोजेका कदम फरक रहेको देखाउँछ ।
जसले कांग्रेसभित्रको राजनीतिक आगामी दिनमा कसरी अगाडि बढ्छ भन्नेमै संकट देखिएको छ । अर्कोतर्फ केन्द्रीय समितिको बैठक शुरु भइसक्दा एजेण्डा समेत तय हुन सकेको छैन । कांग्रेस प्रवक्ता प्रकाशरण महत भने सभापति देउवाले नेतृत्व छाड्छु भनिसकेको र कार्यवहाक समेत दिइसकेको अवस्थामा विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनु गलत भएको बताउनुभयाे।
पार्टीको आन्तरिक विवाद त छँदै छ, त्यसमाथि जेनजी आन्दोलनपछि बदलिएको राजनीतिकलाई कसरी सुरक्षित अवतरण गराउने भन्ने विषयमा पनि कांग्रेसले स्पष्ट बाटो तय गर्नुपर्ने छ । प्रतिनिधिसभाको विघटन र सरकार गठनलाई असंवैधानिक भन्दा भन्दै पनि कांग्रेस निर्वाचनलाई स्वीकार गर्ने पक्षमा देखिन्छ । विशेष होस या नियमित जुनसुकै बाटोबाट भएपनि आफ्नो गुटको नेतालाई नेतृत्वमा पुराउनुपर्ने होडमा गुटहरु सक्रिय भएका कारण पनि त्यो अलमल कांग्रेसमा भएको विश्लेषण पनि भइरहेको छ ।
नेतृत्व छाड्ने, नियमित महाधिवेशन गर्ने र चुनाव स्वीकार्ने देउवाको लाइनले अन्य पक्षलाई थप अलमल्याउने अवस्था पनि छ । जसले कांग्रेसको आन्तरिक राजनीति र राष्ट्रिय राजनीति दुवैतर्फ द्विविधा नबढाउला भन्न पनि सकिंदैन ।
प्रतिक्रिया दिनुहोस्