Logo ६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025


नवनियुक्त सञ्चारमन्त्री खरेलसहित ४ जना मन्त्रीले लिए शपथग्रहण


0
Shares

काठमाडौं । नवनियुक्त ४ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ४ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएकाे हाे । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, मदन परियार र ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेललाई मन्त्रीका लागि राष्ट्रिय समक्ष नाम सिफारिस गर्नुभएको थियो ।

जसमा नवनियुक्त कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्रीमा परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा पुनलाई बनाइएकाे छ । अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रालाई पनि मन्त्रीमा नियुक्त गरिएको थियो । तर विवाद भएपछि नवनियुक्त मन्त्री संगीताको भने शपथ नभएको हो ।

साेही समाराेहका प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, सर्वाेच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र सुरक्षा निकायका प्रमुख लगायतकाे उपस्थिति रहेकाे थियाे । प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएकाे छ । तर प्रधानमन्त्री कार्कीसहित हालसम्म ८ जना मात्रै मन्त्रिमण्डल विस्तार भएकाे छ ।

अझैं ३ जना मन्त्री चयन गर्न बाँकी नै रहेकाे हाे । हालसम्म मन्त्री भएका जति सबै राजनीति दल भन्दा बाहिरका रहेका छन् ।