
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिन विभिन्न व्यक्तिहरूसँगको परामर्श तीव्र बनाउनुभएकाे छ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकाे कार्कीले प्रधानमन्त्री बनेकाे १० दिन भइसकेका कारण मन्त्रि छिटो चयन गर्न दवाव बढेको हाे । आन्दोलनको भावना, समावेशीता र सरकारको चुनावी मुख्य कार्यभार बहन गर्न सक्ने व्यक्तिहरूलाई उहाँले मन्त्रीमा ल्याउन खाज्नुभएकाे छ ।
उहाँले त्यसका लागि राजनीतिक दलहरूमा आवद्ध नभएका व्यावसायिक छविका व्यक्तिहरू खोज्नुभएकाे हाे । उहाँले केही व्यक्तिहरूलाई बोलाए र केहीलाई जेनजीका प्रतिनिधिहरू मार्फत कुराकानी गर्नुभएकाे छ । उहाँले कुराकानी गरेका मध्ये केहीले सहयोग गर्ने वचन दिएका छन् । केही व्यक्तिहरूले हिले मन्त्रिपरिषदमा बस्न नसक्ने जवाफ दिएकाे बुझिएकाे छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो समूहमा छलफल चलाएका केही नामहरू छन् । तीन नामकाे बारेमा अहिलेसम्म राष्ट्रपति कार्यालयमा कुनै जानकारी पुगेको छैन । प्रधानमन्त्री कार्कीको समूहमा छलफल चलेका नामहरूमा पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, वैज्ञानिक महावीर पुन, स्वास्थ्यकर्मी संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र रक्षा बम लगायत रहेका छन् । तर यी नामहरू छलफलमा रहेता पनि अन्तिम निर्णय हुन बाँकी रहेकाे हाे ।
जेनजी युवाहरूले कतिपय नामहरूमा प्रश्न गरेकाले प्रधानमन्त्री कार्कीले उनीहरूको पृष्ठभूमिकाे बारेमा थप खोजबीन गरिरहनुभएकाे बुझिएकाे छ । जसका कारण आइतबारै मन्त्रीहरूको नियुक्ति हुने निश्चित छैन । राष्ट्रपति कार्यालयका अनुसार नाम आइसकेको छैन ।
प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्री बनाउने यसअघि नै घोषणा गरिसक्नुभएकाे छ । हालसम्म ३ जना मन्त्री बनिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्