Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरूद्ध सडक खुलाउने यातायात मन्त्रालयकाे तयारी


130
Shares

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा शनिबार बसेको बैठकमा उहाँले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिनुभएको हो । हाल मौसमका कारण सडक अवरुद्ध भएको उल्लेख गर्नुहुँदै उहाँले सडक खुलाउन मन्त्रालय र सडक विभागको टिम सक्रिय रहेको बताउनुभयो । पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि सडकको काम रोकिएको उहाँकाे भनाइ छ ।

साेही स्थानमा बिहान सुख्खा पहिरो समेत खसेको बताउनुभयो । पहिरो सक्रिय अवस्थामा रहेको बेलामा भने काम गर्न नसकिने उहाँको भनाइ छ । उहाँले सो स्थानमा पहिरो सफा गर्न सडक विगागको टोली पुगिसकेको जानकारी दिनुभयो । सडक सफा गर्न शुरु गरेको ४ घण्टामा सो सडक खुल्ने उहाँको दावी छ । सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको समेत उहाँले बताउनुभयाे ।

बैठकमा मन्त्री घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताउनुभएकाे छ । बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रीबस दिउँसो चलाउन माग गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर र महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताएका थिए ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियाे ।