
रमेश धमला
काठमाडौं । गत भदौ २३ र २४ गतेको उथलपुथलकारी आन्दोलन पछि नयाँ सरकार गठनसँगै परिस्थिति सम्हालिंदै गएको छ ।
तर शान्ति सुरक्षाको चुनौती भने कम भएको छैन । विशेष गरी आन्दोलनको बहानामा कारगार तोडेर फरार भएका कैदीबन्दी अहिले ठूलो संख्यामा बाहिर रहेकाले शान्ति सुरक्षा प्रभावित हुन सक्ने आशंका गरिएको छ । गोलघरमा राखिए कैदीहरु समेत केही फिर्ता हुँदा अझै ९ हजार बढी फरार रहेका छन् । फिर्ता नहुने विरुद्ध भने निर्मम कारबाही हुन सक्ने प्रशासनले चेतावनी समेत दिएकाे छ ।
२३ गते संघीय संसद भवन क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु पछि चर्किएको आन्दोलनको असर कारागारसम्म पुग्यो । विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले दवाव दिएर नख्खु कारागाबाट सभापति रवि लामिछानेलाई निकालेपछि देशैभरी कैदीबन्दी फरार हुने लहर चल्दा शान्ति सुरक्षामा ठूलो जोखिम निम्तिन पुगेको हो ।
रवि निस्किए पछि विद्रोहमा उत्रिएका नख्खुमा रहेका १ हजार २ सय ७६ मध्ये २ जना बाहेक सबै फरार भएका थिए। जसको लहर देशका २७ कारागारमा फैलियो । नक्खुबाट फरार भएका मध्ये कुख्यात अपराधी संजय टक्ला पक्राउ परेका छन् । केहीलाई बाहिर नियन्त्रणमा लिइएको थियो भने अधिकांश अझै फर्किएका छैनन् ।
चौतर्फी दवाव र पार्टीभित्रै असन्तुष्टि चुलिएपछि लामिछाने आफैं भने कारगार फर्किएका छन् । नख्खु कारागारबाट निस्किएकै कैदीले केद्रीय कारगार पुगेर त्यहाँका कैदीबन्दी पनि निकालेका हुन् । नख्खु र केन्द्रीय कारागारबाट निस्किएका कैदीहरुलेनै अधिकांश अदालत र प्रहरी कार्यालयमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केन्द्रीय कारागारमा रहेका ३८ सय ८१ कैदीबन्दी मध्ये ३५ सय २० जना फरार भएका थिए । १ हजार ८४ जना भने फर्किएका छन् ।
रोचक त के रह्यो भने केन्द्रीय कारगारको गोलघरमा राखिएका ३३ किलो सुन काण्डमा हत्या अभियोगको संजाय भोगिरहेका चुडामणि उप्रेति (गोरे) भागेर पनि कारगारमा नै फिर्ता आएका छन् । हत्या अभियोगमै सजाय भोगिरहेका गुण्डा नाइके समीरमान बस्नेत भने भागेनन् । कुख्यात दुवै र हङकङबाट ३८ क्विन्टल सुन तस्करीको र्याकेट चलाएको अभियोगमा थुनामा रहेका चिनियाँ नागरिकहरु भागेका छन् ।
उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ । कारागारमा रहेका २९ हजार २ सय १२ कैदी मध्ये सबै भन्दा बढी बलात्कार मुद्दाका अभियुक्तहरु थिए । भागेका मध्ये बलात्कार, चोरी डंकैती र संगठित अपराधमा संलग्नहरुबाट समाजमा जोखिम उत्पन्न हुन सक्ने भन्दै प्रहरीले निर्ममताका साथ खोजी गरिरहेको कारागार व्यवस्था विभागले जनाएको हाे । कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपाने फरार कैदीबन्दीको खोजी कार्य भइरहेको र फर्किएर आउन सूचना जारी पनि गरेकाे बताउनुभयाे। यदि नआएकाे खण्डमा कानून अनुसार कारबाही हुने उहाँकाे भनाइ छ ।
देशैभरीका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । अन्य कारगारबाट भाग्न खोज्दा रोक्ने क्रममा १० जनाको मृत्यु समेत भएको थियाे । बालसुधार गृह र कारगारबाट फरार भएका मध्ये ५ हजार १ सय १९ जना पक्राउ तथा आफैं फिर्ता आएका छन् । भागेर भारत पुगेका कैदीबन्दीले पनि फिर्ता आउने खबर गरिरहेका छन् । फिर्ता कैदी बन्दीलाई कुनै थप सजाय नहुने तर जो फिर्ता आउँदैन पक्राउ परे थप सजाय हुने भएकाे छ । कारगारले सबै सुरक्षा निकायलाई फरार कैदीबन्दीहरुको विवरण दिएर सीमा क्षेत्रमा पनि खोजी गरिरहेको कारागार व्यवस्था विभागका निर्देशक न्यौपानेले बताउनुभयाे ।
केही कारागारमा भौतिक क्षति पुगेको छ । प्रहरीको भौतिक संरचनामा ठूलो क्षति पुगेका कारगारहरुको सुरक्षा नेपाली सेनाले गरिरहेको जनाएकाे हाे।
प्रतिक्रिया दिनुहोस्