
काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको क्षतिग्रस्त संरचनाहरुको अवलोकन गर्ने क्रममा उहाँले मंगलबार मातहतका निकायलाई तत्काल त्यहाँको फोहोर व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहित अवलोकनमा पुग्नुभएका मन्त्री घिसिङले फोहोर सफा गर्ने र काम लाग्ने कोठाहरु रङ रोगन गरी सञ्चालनमा ल्याउने व्यवस्था तत्काल मिलाउन पनि सचेत गराउनुभयो । उहाँले त्यहाँ जलेर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनहरु पनि उचित ठाउँमा व्यवस्थापन गर्न ढिलाई नगर्न समेत आग्रह गर्नुभएकाे छ ।
उहाँले भन्नुभयो,-‘यो फोहोर जति सबै सफा गरेर फालिदिउँ । जहाँ जहाँ काम हुँदैन, त्यहाँ छोपीदिउँ । यिनी रङ रोगन गरेर चलाई दिउ । यसलाई उठाएर लैजाने काम गरौं ।’ साेही क्रममा मन्त्री घिसिङलाई शहरी विकास मन्त्रालयका सचिव सिग्देल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव शर्माले सिंहदरबारभित्रको फोहोर व्यवस्थापनको काम शुरु गरिएको र छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्