
नरेन्द्र महतारा
काठमाडाैं । यहि भदाै २३ र २४ गते जेनजी युवाले गरेकाे आन्दोलनले नेपालमा परिवर्तनको झल्को त दियो ।
तर आन्दोलनका नाममा भएको क्षतिले मुलुकलाई नै जोखिममा पारेको हाे । आन्दोलनका नाममा सार्वजनिकदेखि निजी सम्पत्तिमा आगजानी भयो । स्वदेशी तथा विदेशी लगानीका कम्पनीहरुमा खोजी-खोजी तोड्फोड र आगजनी गरियो । जसले क्षति मात्र निम्त्याएको छैन, मुलुकको अर्थतन्त्रमा समेत ठूलो धक्का पुर्याएको छ ।
पटक-पटक सत्ताको रजाईँ गर्नेहरु र सत्ताकै पछि दौडिनेहरुले यो मुलुकलाई संकटमा धकेलेका हुन् भन्नेमा कुनै दुईमत छैन । यस्ता सत्तावादी प्रवृत्तिलाई परास्त गर्न जरुरी थियो । जेनजी आन्दोलनले त्यसलाई परास्त गर्यो पनि । तर, जेनजी पुस्ताको आन्दोलनमा व्यापक भौतिक क्षति हुँदा त्यसले थप मुलुक संकटमा धकेलिएको छ । क्षति भएका भवनहरु सहजै उठ्न सक्ने अवस्थामा छैनन् । जेनजीहरुको आक्रोश सरकार र राजनीतिक दलका नेतामाथि थियो ।
त्यो आक्रोश सरकारमाथि मात्र सीमित रहेन, स्वदेशी लगानीदेखि विदेशी लगानीसम्मका कम्पनीसम्म पुग्यो । जेनजी आन्दोलनका क्रममा एनसेल, हिल्टन र ह्यात रिजेन्सी लगायतका बहुराष्ट्रिय कम्पनीहरुमा क्षति पुगेको छ । यो क्षतिले भवन मात्र ध्वस्त भएका छैनन्, विदेशी लगानी समेत जोखिममा परेको छ ।
यो क्षति काठमाडौंमा मात्र भएको छैन । देशमा विभिन्न स्थानहरुमा क्षति भएको छ । यी कम्पनीहरुले कुनै न कुनै रुपमा अर्थतन्त्रमा योगदान दिँदै आएका थिए । सँगसँगै स्वदेशमा रोजगारीको अवसर पनि प्रदान गरिरहेका थिए । क्षतिसँगै सयौं नेपालीहरुको रोजगारी गुमेको छ । अर्कोतर्फ स्वदेशमै लगानी गरेका व्यापारीहरुको मनोबल समेत गिरेको छ ।
जसले अब मुलुकमा विदेशी लगानी त आउने जोखिम त बढ्यो नै स्वदेशी लगानी समेत नहुने जोखिम बढाएको छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा लगानीको जोखिम बढ्नुले अर्थतन्त्र नै धरापमा पर्ने देखिन्छ ।
नेपालमा लगानीका लागि झन्झटिलो प्रक्रिया कायमै थियो । यहि प्रक्रियाका कारण लगानीको वातावरण प्रभावित बनेको थियो । अब लगानी नै नहुने जोखिम बढेको छ । जुन नेपालको उदाउँदो अर्थतन्त्रका लागि ठूलो धक्का हो । विदेशी लगानी रोकिंदा नेपाल जस्तो उदीयमान अर्थतन्त्रका लागि ठूलो धक्का लाग्ने छ ।
तसर्थ नवगठित सरकार, अन्य सरोकारवाला निकाय र आम नेपालीले भएको विदेशी जोगाउन तथा थप लगानी भित्र्याउन आ-आफ्नो ठाउँबाट पहल गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्