
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पाैडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेकाे समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने सुझाव दिनुभएकाे छ ।
उहाँले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो संवेदनशील घडीमा संविधानको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे हाे । जेनजीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित गरेको आन्दोलनमा १९ जना युवाको ज्यान गएपछि भड्किएको हिंसा, आगजनी र तोडफोडका कारण मुलुक स्तब्ध बनेको पूर्वराष्ट्रपति भण्डारीकाे भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सरकार कामचलाउ अवस्थामा रहेकाे उहाँकाे भनाइ थियाे । तर संविधानले सुनिश्चित गरेका राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू विद्यमान रहेकाे बताउदै उहाँले त्यसैले वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्नुपर्ने जारी विज्ञप्तिमा भनिएकाे छ । पूर्वराष्ट्रपति भण्डारीले युवा पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यतासहित सही दिशातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे । हिंसा र तोड्फोडबाट राज्य तथा सम्पदामा पुगेको क्षतिको गम्भीर छानबिन गर्न समेत सम्बद्ध सबैलाई आग्रह समेत उहाँले गर्नुभएकाे छ ।
पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको समाजलाई स्वतन्त्रताको वातावरणमा फर्काउने जेनजी पुस्ताको सपना अझ लोकतान्त्रिक र अग्रगामी हुने विश्वास समेत व्यक्त गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्