
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आलोचना दवाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर गर्दै आएको आरोप लगाएका छन् ।
अध्यक्ष दाहालले शुक्रबार आफ्नो आधिकारी फेसबुक पेजमार्फत सूचीकृतमा नआएका फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयको आलोचना गर्नुभएकाे हाे । वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दवाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको उहाँकाे भनाइ छ ।
संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको उहाँले बताउनुभयाे । सरकारको कदम संविधान विरोधी, अलोकतान्त्रिक, जनविरोधी मात्र नभएर सामाजिक सञ्जाल प्रकाशन र प्रसारण सम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत भएको उहाँकाे भनाइ छ ।
साेही निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र नभएर देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयाे । आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण नभएर उचित नियमनको पक्षमा अडिग रहेको उहाँकाे दावी छ ।
संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक कदम भएको अध्यक्ष दाहालकाे तर्क थियाे ।
अध्यक्ष दाहालले फेसबुक पेजमा यस्ताे लेख्नुभएकाे छ:

प्रतिक्रिया दिनुहोस्