१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मतिले पारित


1.339k
Shares

काठमाडाैं । राष्ट्रिय सभाको बैठकबाट संघीय निजामती विधेयक सर्वसम्मतिले पारित भएको छ ।

सभाको मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा सोही विधेयक पारित गरेको हो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।

विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिंदै मन्त्री न्यौपानेले संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न संघीय निजामति सेवा ऐन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रशासनिक संघीयता बलियो नगरी संघीयतालाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै उक्त ऐन लागू भएपछि कर्मचारी प्रशासन व्यवस्थित र प्रभावकारी हुने बताउनुभयो ।

लामो समयसम्म कर्मचारी व्यवस्थापनमा देखिएको समस्याले संघीयतालाई व्यवहारमा उतार्न अवरोध गरेको भन्दै यो ऐनले ति समस्याहरुको समाधान गर्ने पनि बताउनुभएको छ । संघीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन गर्दै सुशासनमुखी संयन्त्र विकास गर्नुपर्ने उहाँको भनाइ थियो । निजामति ऐन लागू भएसँगै प्रभावकारी सेवा र सुशासन कायम गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

प्रतिनिधि सभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन सोही विधेयक पारित भएको छ ।