
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताउनुभएको छ ।
काठमाडौंमा सोमबार आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका केही पदाधिकारीहरुले कुरा ठूला-ठूला गर्ने गरेको भएपनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको समेत उहाँले टिप्पणी गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले पार्टीका अधिकांश नेता तथा कार्यकर्ता धागो नभएको चंगा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको बताउनुभएको छ । पार्टीका कतिपय पदाधिकारी र केन्द्रीय सदस्यहरुले कुरा ठूला गरेपनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उहाँको निष्कर्ष थियो । पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्नेमा जोड दिनुभएको छ ।
उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसाबले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने बताउनुभयो । सिंगो पार्टी पंक्ति सोही अनुसार परिचालन हुन आवश्यक रहेको पनि उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्