Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय बनाउन सफल हुनेछौं: उपाध्यक्ष पाण्डे (भिडियाेसहित)


2.7k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय बनाउन सफल हुने बताउनुभएको छ।

काठमाडौंमा सोमबार आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन कुनै प्रतिबन्ध नगरेको समेत उहाँले स्पष्ट पार्नुभयो । संविधानले राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टीमा लाग्न र राजनीति गर्न निषेध नगरेको उहाँको भनाइ छ ।

राष्ट्रपति बनेपछि मनोनित, नियुक्त वा निर्वाचित पद भने त्यहि अवस्थामा खाली हुने व्यवस्था भए पनि संविधानमा पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा प्रवेश गर्न रोक्ने प्रावधान नभएको उपाध्यक्ष पाण्डेले बताउनुभयो । संविधानले नै नरोकेको विषयमा पूर्वराष्ट्रपतिलाई कुनै पार्टीले विधान बनाएर रोक्न नमिल्ने उहाँको दावी छ । कुनै पनि बहानामा कसैलाई पनि सदस्य बन्नबाट रोक्न नपाइने उहाँको तर्क थियो ।

पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काउँदैमा तत्कालै नेतृत्वमा पुग्ने भन्ने भ्रम नफैलाउन समेत उहाँले आग्रह गर्नुभएको छ । पार्टीमा लाग्दैमा अध्यक्ष भइ हालिन्छ भन्ने पनि नहुने उहाँको भनाइ थियो । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः सक्रिय राजनीतिमा आउन रोकेको छ ।

तर यस्तो अवस्थामा उहाँका पक्षधरहरूले ढिलो-चाँडो भण्डारीलाई राजनीतिमा फर्काउने प्रयास निरन्तर रुपमा गरिरहेका छन् ।