२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बेनी-जोमसोम सडक चार दिनपछि खुल्यो


299
Shares

काठमाडौं । बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात सञ्चालनमा आएको छ ।

सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल सडकमा खस्ने र थुप्रो लाग्ने गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी, सशस्त्र, सेना र यातायात मजदुर जुटेर पहिरोबाट तल खस्न ठिक्क परेका ढुंगामाटोलाई तल खसाल्ने र पहिरोमा रहेको पानीलाई पाइपबाट तर्काएपछि एक्स्काभेटरले सडकमा थुप्रिएको पहिरो पन्छ्याएर यातायात सञ्चालन गरिएको हो ।

यातायात खुलेसँगै चार दिनदेखि सडकमा अलपत्र परेका भारतिय पर्यटकसमेत यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

त्यसैबीच, बेनी–जोमसाोम सडकको गलेश्वर–घाँसासम्मको ३८ किलोमिटर खण्डमा राति सवारी चलाउन रोक लगाएको छ । यो खण्डको अधिकांश क्षेत्रमा माथिबाट पहिरो खस्ने जोखिम रहेकोले यात्रुको सुरक्षाका लागि राति यातायात चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।