२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेतीमा पक्की पुल निर्माण गरिँदै


104
Shares

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ ।

लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका जान समेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यही वर्षमा पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।”गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालको पहल र उहाँलेनै पुलको शिलान्यास गर्नुभएको गौतमले बताउनुभयो ।

माछापुच्छ्रेका वडा नं २ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार ६०४ लागतमा पुल निर्माणका लागि हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएपछि काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ ।

पुल आगामी विसं २०८० साउन २४ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । आरसीसी स्टील स्टक्चरमा निर्माण गरिने सो पुल ७० मिटर लामो र दुबैतर्फ डेढ मिटर फुटपाथ सहित साढे १० मिटर फराकिलो हुने कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा माछापुच्छ्रेमा दुई वटा पक्की मोटरेवल पुल निर्माण र तीन वटाको काम भइरहेको छ । माछापुच्छ्रे–६ स्थित इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने पक्की पुल बनेर सञ्चालनमा आइसकेको छ । यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा मोटरेवल पुल बनेको छ ।

वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुलका लागि डिपिआर तयार गर्न यस वर्ष रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।