Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज आइतबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १२ः५९ मा बस्ने संसद सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन, व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित कारागार विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।