Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बुबाको हत्या अभियोगमा थापा पक्राउ, बुबाको टाउकोमा ढुंगा प्रहार गरेको स्वीकार


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बुबा मीनबहादुरको उपचारका क्रममा पोखरामा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए ।

अभियुक्त कुमारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए ।

अभियुक्त कुमारले प्रहार गरेको ढुङ्गाले अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो ।

प्रनाउ कुँवरका अनुसार छोराले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शी कुमारकी आमाको बयान दिएकी र छोरा कुँवरले पनि स्वीकार गरेका छन् ।

“अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान भइरहेको छ”, प्रनाउ कुँवरले भने ।

अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेको बताइएको छ ।

घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरी मुचुल्का बनाई फर्किएको छ ।

घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुङ्गा प्रहार गरेको स्वीकारसमेत गरेको प्रहरीले जनाएको छ ।रासस