जलेश्वर, फागुन २९ । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा रु डेढ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाअनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को रु एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन् ।
उनीहरुलाई प्रहरीले मंगलबार राति पक्राउ गरेर बिहीबार सञ्चारकर्मीलाई जानकारी गराइएको हो ।
पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाइ र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाइ बैंकमा जम्मा नगरी रु एक करोड ६१ लाख ७६ हजार ८६० हिनामिना गरेको देखिएको छ ।
सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आशंका गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस








प्रतिक्रिया दिनुहोस्