४ असार २०८२, बुधबार | Wed Jun 18 2025


देश बनाउनका लागि एमालेले बहुमत ल्याउनैपर्छ : अध्यक्ष ओली

‘मिचिएको लिम्पियाधुरासहितको भूभाग फिर्ता नल्याएसम्म मिचिएको महसुस हुन्छ’

0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको लागि नभइ देशका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । उहाँले पार्टी जनमत र निर्वाचनको तयारी जुटिसकेको पनि स्पष्ट पार्नुभयो ।

‘देश बनाउन, लोकतन्त्र, संविधानको रक्षा, कार्यान्वयन र सही व्याख्या गर्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले छोटो समयभित्रै देशलाई साधनस्रोत सम्पन्न बनाउनका लागि पनि एमालेले अगामी निर्वाचनमा बहुमत ल्याउनुपर्नेमा जोड दिनुभयो ।

‘दीगो विकास लक्ष्य ९ वर्षभित्रै हासिल गरेर, छोटो समयभित्रै साधनस्रोत सम्पन्न बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्छ’, उहाँले थप्नुभयो ।

अध्यक्ष ओलीले लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर नक्सा छापिसकेको स्मरण गराउँदै वार्ताको माध्यमबाट भूभाग फिर्ता नपाएसम्म आफूहरूलाई थिचिएको र मिचिएको महसुस हुने बताउनुभयो ।

उहाँले नेपाली जनता र नेपालको विकासका लागि संविधान संशोधन हुनसक्ने बताउनुभयो । हिंसाको बाटोमा रहेका शक्ति र समूहहरुलाई आफू सरकारमा हुँदा शान्ति प्रक्रियामा ल्याएको उहाँले स्मरण गर्नुभयो ।

नेपालमा लगानीको वातावरण बनेको बताउँदै अध्यक्ष ओलीले स्वदेशी र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

नेपालको दाबी अब अन्तरिक्ष र समुन्द्रसम्म पुगिसकेको बताउँदै उहाँले अब नानो स्याटेलाइट मात्र नभएर ठूलो स्याटेलाइट पनि नेपालले प्रक्षेपण गर्ने बताउनुभयो ।

मुलुकमा राजनीतिक समस्या समाप्त भइसकेको भन्दै उहाँले शान्तिपूर्ण अवस्थालार्ई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु आजको आवश्यकता रहेको औल्याउनुभयो ।

राष्ट्रियता, विकास, सामाजिक सुरक्षाको सन्दर्भमा आफूले गरेका कुराहरु जनतामाझ स्पष्ट रहेको स्मरण गर्नुभयो ।