Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


निजी अस्पतालले २० प्रतिशत बेड नछुट्याए पीसीआरको अनुमति खारेज गर्ने मन्त्रालयको चेतावनी


0
Shares

काठमाडौं, भदौ ३ । कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मेडिकल कलेजले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरुले पीसीआर परीक्षणका लागि अनुमति पाउने पनि जानकारी दिनुभयो ।

केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो ।

प्रवक्ता गौतमले निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताउनुभयो ।

उहाँले आउने एक दुई वर्षमा कुनै पनि उपचार गर्ने अस्पतालले कोभिड बाहेकको मात्र उपचार गर्ने संभावना नरहेको भन्दै ननकोभिड बिरामी पनि कोभिड संक्रमित हुन सक्ने भएकाले त्यतिबेला अस्पतालले तुरुन्त रिफर गर्न सम्भावना कम हुने बताउनुभयो ।

प्रवक्ता डाक्टर गौतमले सरकारी अस्पताल अब भरिभराउ हुने सम्भवाना रहेको भन्दै निजी अस्पताल पन्छिन नमिल्ने बताउनुभयो ।

यो उनीहरुको जिम्मेवारी तथा बाध्यता रहको उहाँको भनाइ थियो ।