
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ र नवलपरासी बर्दघाट सुस्ता पूर्व गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले कोरोना संक्रिमतको संख्या गण्डकी प्रदेशमा बढ्दै गएको बताउनुभयो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरीएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको छ । यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष र बागलुङको बरेङ गाउँपालिकाका २३ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको हो ।
उता, भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणमा प्रदेशअन्तर्गत नवलपरासी का २ महिलासहित २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका उनीहरु सबै जनालाई सम्बन्धित जिल्लाका अस्पतालमा उपचारका लागि आइसोलेसन बेडमा राख्ने तयारी गरीएको छ ।
प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने ९१ जना निको भई डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्