२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोरोना संक्रमितको शव व्यवस्थापनमा तनाव, आठ राउन्ड हवाईफायर


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार ११ । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव बिहीबार व्यवस्थापन गरिएको छ ।

स्थानीयको विरोधकाबीच पोखरा महानगरपालिका–३२ मा शव व्यवस्थापन गरिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिनुभयो ।

डोजरले खाल्टो खन्न लागेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । सोक्रममा प्रहरी र स्थानीयबीच झडप पनि भएको जनाइएको छ ।

स्थानीय युवा तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाईफायर गरेको थियो ।

आठ राउन्ड हवाईफायर भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।

त्यसक्रममा प्रहरीले आठजना स्थानीयलाई नियन्त्रणमा लिएको छ ।

उपचारका लागि यही असार ८ गते पोखरा ल्याइएका स्याङ्जाको आँधीखोला गाउँपालिका, सिरुबारीका कोरोना संक्रमित पुरुषको बुधबार मध्यराति मृत्यु भएको थियो ।

मधुमेह र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वास–प्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । यसअघि, स्याङ्जाकै वालिङ नगरपालिका–३ का ५८ वर्षीय पुरुषको जेठ २५ गते क्षेत्रीय अस्पतालको ‘आइसोलेसन’मा मृत्यु भएको थियो ।

पहिलो मृतकको शव व्यवस्थापन गर्दापनि पोखरामा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि त्यतिबेला प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो ।