२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द


0
Shares

प्रदिप पौडेल/ईमेज

पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द भएको छ ।

कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका ५५ वर्षे पुरुषको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

शुक्रबारबाट सबै सेवा नियमित सञ्चालन हुने उहाँले बताउनुभयो । उपचारका लागि गत ८ जेठमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।

डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

विहीबार बिहान ४ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ५३ पुगेको हो । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन् ।