३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सात दिनमा कोरोना निको हुने औषधि बनाएको भारतीय बाबा रामदेवको दाबी


0
Shares

एजेन्सी, असार ९ । भारतीय योगगुरु बाबा रामदेवले कोरोना निको पार्ने औषधि बनाएको दाबी गर्नुभएको छ । आफ्नो कम्पनी पतञ्जलीले कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि तयार पारेको दाबी उहाँले गर्नुभएको हो ।

पतञ्जली आयुर्वेदका तर्फबाट गरिएको पत्रकार सम्मेलन गर्दै रामदेवले घोषणा गर्दै भन्नुभयो, ‘विश्वले कोरोना भाइरसको औषधि खोजी गरिरहेको थियो । आज कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको छ । यसको नाम हामीले कोरोनिल राखेका छौँ ।’

पतञ्जलीले बनाएको यो औषधि बजारमा किन्न सकिने जानकारी दिँदै, ‘आयुर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्जलीको स्टोरबाट पाउन सकिन्छ’ भन्नुभयो ।

आगामी सोमबारसम्म एक एप सार्वजनिक गरी त्यसैको माध्यमबाट घरघरसम्म औषधि पुर्याइने भन्दै उहाँले एलोपेथिक सिष्टमले औषधिलाई नेतृत्व गरिरहेको भए पनि पतञ्जलीले भने क्लिनिल कन्ट्रोलको अध्ययन गरेर औषधिको परीक्षण गरेको दाबी गर्नुभयो ।

‘हामीले परीक्षण गरेको औषधिले तीन दिनमा ६५ प्रतिशत रोगी पोजिटिभबाट नेगेटिभ भइसकेका छन् । कोरोना संक्रमित व्यक्ति सात दिनमा शतप्रतिशत ठीक हुन्छ,’ उहाँले भन्नुभयो ।

सबै वैज्ञानिक तथ्यहरुलाई आधार मान्दै कोरोनिलको तयार गरेको भन्दै बाबाले भन्नुभयो, ‘हामीसँग सबै प्रश्नको जवाफ छ, किनकि हामीले सबै वैज्ञानिक नियमको पालना गरेका छौं ।’

उक्त औषधिमा गुर्जो, अश्वगन्धा, तुलसी र श्वासारी मिसाएर बनाइएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने जानकारी उहाँले दिनुभयो । कोरोनिल भारतीय ६ सय रुपैयाँमा पाउने पनि उहाँको भनाइ थियो ।