
काठमाडौं, साउन ११ । व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले काठमाडौं विश्वविद्यालयको एमडीको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेपबारे छानबिन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आज बसेको बैठकले छानबिन उपसमिति गठन गरेको हो । उपसमितिलाई १० दिनको समय दिइएको छ ।
समितिले बैठकमा छलफलका लागि बोलाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अनुपस्थित भए ।
स्वास्थ्य समस्या भएको भन्दै कार्की समितिको बैठकमा अनुपस्थित भएका हुन् । अख्तियारका प्रमुख आयुक्त कार्कीले समितिलाई पत्र पठाएर आफ्नो घाँटीमा समस्या देखिएको र डाक्टरले एक हप्तासम्म बोल्न नहुने भनेकाले आफू उपस्थित हुन नसक्ने जानकारी गराएको समितिले जनाएको छ ।
काठमाडौं विश्वविद्यालयको एमबीबीएस र एमडीको प्रवेश परीक्षामा अख्तियारले गरेको हस्तक्षेपबारे छलफल गर्न समितिले कार्कीलाई बोलाएको थियो । प्रमुख आयुक्त कार्की उपस्थित नभए पनि आयोगका कर्मचारीहरु भने समितिको बैठकमा पुगेका थिए ।
अख्तियारको तर्फबाट बैठकमा अख्तियारका सचिव शान्तराज सुवेदीलगायत पदाधिकारीहरु वेगेन्द्रराज शर्मा, कानुनविद् भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत कर्मचारी उपस्थित भएका थिए ।
समितिले यसअघि काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गरेको थियो । अख्तियारका पदाधिकारीहरुले विश्वविद्यालयमा प्रश्नपत्र, परीक्षा सञ्चालनलगायतका विषयमा उजुरीमा केन्द्रीत अनुसन्धानकर्ताको भुमिका मात्रै निर्वाह गरेको व्यहोरा पेश गरेको छ ।
आयोगले काठमाडौं विश्वविद्यालय मात्र नभएर अन्य विश्वविद्यालय पनि छानविनको दायरामा रहेको जानकारी गराएको छ । समितिका सदस्यहरुले भने कार्यक्षेत्रवाट वाहिर गएर कसैको उजुरीको आधारमा अख्तियारले हस्तक्षेप गर्न नहुने विचार राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्