
काठमाडौं, साउन १२ । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा गएको पहिरोका कारण थप ६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् ।
गएराति पहिरोले प्युठानको थोप्पी–४ अधेरीमा चार घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् । पहिरोले हरिबहादुर केसी, जगेश्वर बुढाथोकी, नारायणबहादुर केसी र द्रोण केसीको घर बगाएको हो ।
घटनामा नारायणबहादुर केसी, द्रोण केसी, उनकी श्रीमती पवित्रा, जगेश्वर बुढाथोकी र उनकी श्रीमती पिमाको मृत्यु भएको छ । यस्तै हरिबहादुर केसी र उनकी श्रीमती बिन्दु बेपत्ता छन् ।
यसैगरी रोल्पामा गएको पहिरोले एक घर पुरिँदा चार जना बेपत्ता भएका छन् । उवा–९ का नन्दबहादुर पुनको घर पहिरोले पुर्दा उनकी श्रीमती मनकुमारी पुन, दुई छोरा र एक छोरी पुरिएको स्थानीयले बताएका छन् ।
यता, पर्वतको माझफाँट गाविस–३ वारीवेनीमा कालीगण्डकीको तिरमा रहेको एक कपास उद्योग पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् । धौलागिरी कपास उद्योग पहिरोले पुरिँदा उद्योगभित्र रहेकी अंकिता तामाङको मृत्यु भएको हो । घाइते अवस्थामा उद्धार गरिएको उनलाई थप उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सात जना मजदुर र सञ्चालक घाइते भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्