
काठमाडौं । दैव तेरो लिला पनि अपरम्पार छ ।
बाल्यकालमै रुवाएर आँशु त सकेकै थिइस
सबैथोक त चुंडेर लगेकै थिइस र पनि पुगेन छ है ?
माथिको मार्मिक र आक्रोसपूर्ण हरफहरु फेसबुकको वालमा निकै भाइरल भएको छ । कतै चार सदस्यीय सानो परिवारको तस्वीर राखेर त कतै सुन्दर एक युवतीको तस्वीर राखेर फेसबुक रङ्गिएको छ ।
वास्तवमा यही हरफभित्र एउटा दुःखत र पीडादायी घट्नाको तस्विर झल्किन्छ । मानिसले अनेकौं विपत्ति र पीडाको सामना गर्नुपर्दोरहेछ भन्ने दुःखत उदाहरण यही घटनाबाट थाहा हुन्छ । मृत्युको कुनै समयसीमा हुन्न । मान्छेहरु जुनसुकै बेला मृत्युको मुखमा पुग्छन् र सदाका लागि विदा हुन्छन् ।
यद्यपी, सामान्य मानिसको मृत्युमा यतिधेरै मानिसहरु भावुक हुँदैनन् । तर डिभी परेर अमेरिका पुगेकी मुना दुलाल प्रसाईंको मृत्युले यतिबेला धेरैलाई मर्माहत पुर्याएको छ । मनुकी दिदी ज्ञानु दुलालले आफ्नो फेसबुक वालमा लेखेका केही हरफहरुबाट घट्नाको केही मेसो पाउन सकिन्छ ।
एउटा सानो अनि प्यारो थियो फुलबारी
फुलबारीमा फूलेका थिए सात फूलहरु
कुन पापीको आँखा लाग्यो, पाँच फूलहरु मारिदिए
बाँचेका थिए दुई फूल, आज टाढा हुन पुगे
२० बर्षपछि उजाड छ प्यारो फूलबारी
नयाँ फूलहरु फूल्थे होला, विरुवा नै पापीहरुले टिमोठि दिए
पुरानो घाउले मुटु चर्केको छ आज (ज्ञानु दुलाल)
एउटै परिवारका पाँच जनाको ज्यान लिने गरी २०५० सालमा पाँचथरको लुङरुपा–९ टिम्बुरे हत्याकाण्डमा मारिएका दुलाल परिवारमा बाँचेका ज्ञानू र मनू मध्ये ३४ बर्षीया मनुको आइतवार अमेरिकामा निधन भएपछि सयौं मानिसले पुरानो घटनालाई स्मरण गरेका छन् र मर्माहत भएका छन् ।
मनु करिव दुईवर्ष अगाडी डीभि भिसा मार्फत श्रीमान नरेश र छोराछोरीका साथ अमेरिका पुगेकी थिइन । २०१४ उनी डाइभरसिटि भिसा मार्फत श्रीमान नरेश प्रसाई, एघार बर्षीय छोरा निसम र पाँच बर्षिया छोरी निष्ठाका साथ प्रबेश गरेकी थिइन् ।
अगष्ट ११ तारिख बिहीबार परेको छोरी निष्ठाको जन्मदिनमा उनी खुशी देखिएकी थिइन् । यसअघि उनमा खासै कुनै त्यस्तो संबेदनशील स्वास्थ्य समस्या देखिएको थिएन । भोलीपल्ट बिहानै अचानक अस्वस्थ महसुस भएपछि उनले त्यो दिन कामबाट छुट्टी लिएकि थिइन् ।
त्यो दिन फोनमा आफ्ना आफन्त र साथीहरुसँग कुरा गर्दै सन्चो नभएको बताएकी थिइन । त्यसैदिन दिउँसो ४ बजे नुहाउन बाथरुम पसेकी उनी नुहाउनै नसक्ने अवस्था भएपछि गाह्रो मान्दै बाहिर निस्किएकि थिइन् ।
उनको स्वास्थ्य अबस्था एकाएक नाजुक भएपछि ‘ईमर्जेन्सी कल’ गरेर तत्कालै उनलाई अस्पताल पुर्याइएको थियो । अघिल्लो दिन पक्षाघात हुनसक्ने संभावना छ भनेको इलियोट अस्पताले त्यसको भोलिपल्ट १३ तारेख उनलाई मृत घोषणा गरेको थियो ।
आमाको मृत्युमा रोइरहेका नाबालाक छोराछोरीको दृश्यले अस्पतालमा रुवाबासी भएको थियो । मनुका श्रीमान नरेश प्रसाई यो अप्रत्यासित गहिरो चोटले अत्यान्तै विक्षिप्त र अचेत जस्तै भएका थिए । अस्पताल सुत्रका अनुसार मृतक मनुलाई ब्रेन स्ट्रोक भएको बताइएको छ ।
प्रायः पाको मान्छेलाई हुने यस प्रकारको ब्रेन स्ट्रोक यो उमेरमा अत्यन्तै नगण्य हुने डाक्टरहरूको भनाइ रहेको छ । मृतक घोषणा गरे लगत्तै अस्पताल परिसरमा ठुलो संख्यामा नेपालीहरु जम्मा भएका थिए । अमेरिका प्रबेश गरेपछि अमेरिकाको अलबामा राज्यको हन्ट्सभिल सहरमा बसोबास गर्दै आएका उनीहरू यही बर्ष सन् २०१६ जनवरीदेखि अमेरिकाको न्युहाम्सेयर राज्यमा बसाईसरेका थिए ।
मनुको मृत्युको खबरले मानिसहरु यतिधेरै भावुक र मर्माहत हुनुको पछाडी अर्को कहालीलाग्दो घट्ना कारण बनेको छ । किनकी यो घटना ‘टिम्बुरे हत्याकाण्ड’ले चर्चित छ । मनुका पिता कुवेर दुलाल, आमा सरसस्वती रिजाल वहिनी कृष्ण दुलालसँगै भाइहरु उमेश र उद्वव दुलाल (५ जना) को टिम्बुरे हत्या काण्डमा ज्यान गएको थियो ।
के हो टिम्बुरे हत्याकाण्ड ?
वि.स.२०५० साल बैशाख १७ गते पाँचथरको लुङरुपा गाँउ विकास समिति वडा नम्वर ९ का कुवेर दुलालको परिवारका पाँच जना सदस्यलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घट्ना टिम्बुरे हत्या काण्ड नामले परिचित छ । लुङरुपा–९ का कुवेर दुलाललाई छिमेकी नाँगिन गाविस वडा नम्वर ३ सेजेपामा र उनकी श्रीमती सरस्वतीसँगै छोराछोरी कृष्ण,उमेश र उद्ववलाई घरैमा एकसाथ खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
तत्कालिन अवस्थामा मुलुकमै चर्चाको विषय वनेको टिम्बुरे हत्याकाण्ड कसले गरायो भन्ने विषयमा लामो समयसम्म पुष्टि नभएपछि आफन्तहरुले प्रहरी अनुसन्धान टोलीसँगै कुकुर ल्याएर अनुसन्धान गराएका थिए ।
अनुसन्धानमा प्रयोग भएका कुकुरले उनका दाजु नाताका ओमनाथ दुलाल सहित मणी दुलाल, धर्म दुलाल,कृष्ण दाहाल,विष्णु दाहाल, दुर्गा नेम्वाङ र युवराज दुलाल सहित ८ जनालाई समातेपछि कारवाही प्रक्रिया अगाडी बढेको थियो । अदालती प्रक्रियामा पक्राउ परेका ८ मध्ये ७ जनाले आफुहरुलाई ओमनाथ दुलालले आर्थिक प्रलोभनमा पारी हत्या गराएको बयान दिएका थिए भने ओमनाथले पनि पुरानो रिसइवीले कुबेरको हत्या गरेको स्विकारेपछि अदालतले आठजनालाई नै बीस–बीस वर्ष कैदको फैसला सुनाएको थियो । हत्या काण्डका दोषीहरु तीनवर्ष अगाडी कैद भुक्तान गरेर छुटिसकेका छन् ।
यसरी गरिएको थियो हत्या
सामान्य कृषि पेशा अँगालेका कुवेर नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ता थिए । घट्ना भएको साँझ ८–१० जनाको समूहमा आएका स्थानीयले घरैमा वसिरहेका कुबेरलाइ ‘आज नाँंगीनको पिपलवोटेमा सांसद वसन्तकुमार नेम्बाङ आउने कार्यक्रम छ,त्यहाँ जाआंै,गाँउका एकदुईजना अन्य पार्टीवाट एमाले प्रवेश गर्दैछन् ।’ भनेर घरवाट नांगीनतर्फ लगेको पक्राउ पछि हत्याराहरु स्वयमले अदालतको वयानका क्रममा भनेका छन् ।
पिपलवोटे पुग्दा कार्यक्रम स्थल सरेछ नाँगीन ३ सेजेपाका लक्ष्मी न्यौपानेको घरमा हुने भयो रे भन्दै त्यसतर्फ जाने क्रममा वाटोमा पर्ने सल्लेरी जंगल नजिकैको कुलोवाट भीरमा लडाएर हत्या गरेको घट्नाका जानकार तत्कालिन सिद्वदेवी मावि नाँगीनका तत्कालिन प्रधानाध्यापक तिवेन्द्र चाँपागाई वताँउछन ।
कुवेरको हत्या पश्तात पुनः लुङरुपा ९ टिम्बुरे स्थित उनको घर पुगेका हत्याराहरुले श्रीमती सरसस्वतीसँगै ३ जना नावालकहरुलाई खुकुरी प्रहार गरेर हत्या गरी घरभित्रै थुनेका थिए । हत्या पुर्व सरस्वतीलाई बलत्कार समेत गरेको उनीहरुले अदालती वयानमा खुलाएका थिए ।
कसरी बचे ज्ञानु र मनु ?
बाबु–आमा र भाई बहिनीको हत्या भएका बखत मनु नांगीनको पिपलवोटे उच्च माविमा पढ्थिन भने ज्ञानु इटहरी स्थित आफन्तको घर गएकी थिइन् । आमा महिला स्वास्थ स्वयमसेविका समेत रहेकाले घट्नाको अघिल्लो दिन उनले नाँगीनमा रहेकी छोरी भेटेर आएको चाँपागाई बताँउछन ।
‘घर बाहिर रहेकाले मात्रै उनीहरु वँचेका हुन् ।’ चाँपागाई भन्छन्,‘उनका अनुसार ज्ञानु कुवेर र सरस्वतीकी जेठी छोरी हुन भने मनु साँहिली । मारिएकी कृष्णा ज्ञानुकी बहिनी तथा मनुकी दिदी तथा उमेश र उद्वव चाहीं भाईहरु हुन् । झापाको गरामुनीका नरेश प्रसाईसँग विवाह वन्धनमा वाँधिएकी मनुका श्रीमान एक छोरा र एक छोरी छन ।
घरवाहिर रहेकाले वँचेका दुइमध्ये मनुको निधन भएपछि अव दुलाल परिवारकी ज्ञानु मात्रै जीवीत छिन । उनी हाल फिदिममा वस्छिन । एक्ली दिदीले फेसबुकमै लेखेकी छिन्ः ‘मेरो मुटुको टुक्रा पनि अब मसँग रहेन, दैव पनि मसँगै लागे, म जिउनुको अर्थ रहेन् ।’
-स्रोतः पत्रकार लक्ष्मी गौतम तथा विभिन्न व्यक्तिको फेसबुक पेजबाट
प्रतिक्रिया दिनुहोस्