१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बेलायतमा विजीएनसीद्धारा पत्रकारलाई अवार्ड, दर्पणसंसार डटकमको शुभारम्भ


0
Shares

काठमाडौं, साउन ३२ । बेलायतमा बसेर कलम चलाइरहेका आधा दर्जन नेपाली पत्रकारलाई एक संस्थाले अवार्ड प्रदान गरेको छ । ब्रिटिश गोर्खा नेपाली परिषद (विजीएनसी)ले लन्डनमा आइतबार आयोजित एक कार्यक्रमबीच पत्रकारहरुलाई उक्त अवार्ड प्रदान गरेको हो ।

परिषद्ले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष एवं वीनेपाली डटकमका सम्पादक नरेश खपांगीमगर र कान्तिपुर दैनिकका बेलायत संवाददाता एवं वीनेपालीडटकमका प्रधान सम्पादक नवीन पोखरेललाई लेखनतर्फ र के के मूभिज तथा कान्तिपुर टिभीका लागि कार्यरत सञ्चारकर्मी कुशल श्रेष्ठलाई भिज्यूअलतर्फ जर्नालिष्ट अफ दि इयर २०१५ अवार्ड प्रदान गरेको हो ।

त्यसैगरि, संस्थाले लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारी र फोटो पत्रकार एभरेष्ट गौतमलाई कमेन्डेड जर्नालिष्ट अफ दि इयर २०१५ अवार्ड प्रदान गर्यो भने विद्यार्थी अभियन्ता गणेश खड्कालाई राइजिङ स्टार अवार्ड २०१५ प्रदान गरिएको छ ।

लोटस क्लव उलवीचमा आयोजित समारोहका प्रमुख अतिथी एनआरएनए युरोप संयोजक कुल आचार्य र काउन्सिलका अध्यक्ष एकराज नेम्वाङले पत्रकारहरुलाई अवार्ड र ‘टोकन अफ लभ’ प्रदान गरे । सम्मानपछि एनआरएनए युरोप संयोजक आचार्यले बधाइ दिंदै पत्रकारहरु समाजप्रति अझ बढि उत्तरदायी हुन जोड दिए ।

उक्त अवसरमा आचार्य र नेम्वाङले दर्पणसंसारडटकम darpansansar.com नामक न्यूज पोर्टलको समेत शुभारम्भ गरेका छन् । उक्त पोर्टलका प्रधान सम्पादक सन्जयभक्त कंडेल हुन् । बेलायतमै बसेर नेपाली पत्रकारिता क्षेत्रलाई योगदान पुर्‍याउने उद्देश्यले अनलाइन संचालनमा ल्याइएको अध्यक्ष तथा प्रधान सम्पादक कडेलले जानकारी दिए । अनलाइनले नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीको आवाजलाई समेट्ने सम्पादक कँडेलले बताए ।

सोही अवसरमा आयोजित सनराइज समर धमाकामा बेली डान्सर एवं गायिका प्रिती आले, नायिका नितु पोखरेल, गायकहरु रामजी खांड र थानेश्वर गौतमले आ आफ्नो प्रस्तुति दिए । मन्जु भण्डारी खरेलले सञ्चालन गरेको उक्त सांस्कृतिक कार्यक्रम प्रकाशराज कंडेलले आयोजना गरेका हुन् ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डे, सचिव एवं पत्रकार फडिन्द्र भट्टराई, युवा संयोजक हरि आचार्य, सहकोषाध्यक्ष ललित न्यौपाने, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि एवं व्यवसायी पशुपति भण्डारी, व्यवसायीहरु कर्ण शाही, विनोद ज्ञवाली, सुरज केसी लगायत सहभागी थिए । कार्यक्रममा साउण्ड सिस्टम हेम विष्टले व्यवस्थापन गरेका थिए ।