१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


काठमाडौं–दुबई सीधा उडान विहीबारदेखि नियमित


0
Shares

काठमाडौं, भदौ १ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौं–दुबई उडान पुनः बिहीबार (भोलि)देखि नियमित गर्दैछ ।

काठमाडौं–दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिए ।

उनकाअनुसार १५८ सिट क्षमताको ‘ए–३२०’ एअरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई उडानका लागि बुकिङ पूरा भइसकेको र पहिलो उडानमा यात्रुमात्र रहनेछन् ।

निगमको कार्यतालिकाअनुसार एअरबस बिहीबार राति ११ः३० बजे उडेर २ः१५ बजे दुबई अवतरण गर्नेछ भने भोलिपल्ट बिहान १० बजे काठमाडौं आइपुग्नेछ ।

काठमाडौंबाट दुबई उडान अवधि चारघन्टा ४० मिनेट र दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाली कामदारको संख्या अत्यधिक रहेकाले पनि सम्भावना बोकेको गन्तव्य हो । निगमले सातामा तीनओटा उडान गर्नेछ ।

काठमाडौंबाट आइतबार, मंगलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ ।

काठमाडौं–दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडादर ‘राउन्ड ट्रिप’को रु ३२ हजार तोकेको प्रवक्ता शर्माले बताए ।

निगमले अहिले दुई एअरबस र एउटा बोइङ जहाजमार्फत् अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

हाल निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंङलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको आठओटा उडान गन्तव्य पुग्नेछ ।

दुबई उडानमार्फत् ४० हजारभन्दा बढी यात्रुलाई सेवा दिएर वाषिर्क रु एक अर्ब आम्दानी गर्ने निगमको लक्ष्य छ ।

वि.सं. २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो । रासस