
नेपालकै उत्कृष्ट निर्माण व्यवसायी गौचनमाथि दिउँसै गोली प्रहार गरी हत्या हुनुले सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि भएको चेम्बरका कावा महासचिव नीलकण्ठ चौलागाइँद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
‘राजधानीको मुटु नयाँबानेश्वरमा आफ्नै गाडीमा हिँडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवसायीमात्रै होइन, सम्पूर्ण उद्योगी–व्यवसायीलाई नै मर्माहत तुल्याएको छ । देशभित्र उद्योगी–व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानीसमेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकाले सुरक्षा व्यवस्थाप्रति गम्भीर हुन सरकारलाई अनुरोध गर्दछौं’–विज्ञप्तिमा उल्लेख छ ।
चेम्बरले दोषीमाथि कडा कारबाहीको माग गर्दै शोक–सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
सोमबार अपराह्न काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट महासंघका अध्यक्ष गौचनको मृत्यु भएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले घटनाबारे व्यापक अनुसन्धान भइरहेको बताउँदै गोली प्रहार गर्ने समूहको खोज–तलासका सम्बन्धमा राजधानीबाट केही शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्