
काठमाडौं, पुस २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आइतबार संसदमा हंगामा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा प्रतिनिधिसभालाई सम्बोधन गरेपछि कांग्रेस सांसदहरुले प्रश्न गर्न समय माग गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तरका लागि छुट्टै समय दिइने जनाएपछि कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
सभामुख महराले कांग्रेस सांसदहरुलाई भने, ‘प्रश्नोत्तरको छुट्टै व्यवस्था छ । अहिले प्रधानमन्त्रीले गरेको सम्बोधन प्रश्नोत्तरको लागि होइन । प्रश्न गर्ने अधिकार छ तर प्रश्नोत्तरकै कार्यक्रममा आफ्नो प्रश्न राख्नुहोला ।’
जवाफमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले सभामुखलाई सभाको मर्यादा राख्न आग्रह गरे । ‘प्रधानमन्त्रीले दिएको सार्वजनिक महत्वको वक्तव्यपछि सभामुखले प्रश्नको अनुमति दिनुपर्छ । सभाको मर्यादा पालन गर्नुहोस्,’ सभामुख महरालाई कांग्रेस सांसद रिजालले भने ।
त्यसपछि सभामुख महराले सीमित सदस्यलाई प्रश्न राख्न अनुमति दिने भन्दै डा. रिजाललाई एक मिनेटको समय दिए ।
तर कांग्रेस सांसदहरुले ‘सीमित संख्या भन्न पाइँदैन’ भन्दै फेरि विरोध जनाए । ‘सोध्न खोज्दासम्म सबै सांसदले प्रश्न सोध्न पाउनु पर्छ,’ सांसद रिजालले भने ।
केहीबेर होहल्ला चलेपछि सभामुखले भने, ‘त्यसो भए प्रश्नोत्तर गर्ने अनुमति मैले दिइनँ ।’ उनले आजको शुन्य समय र विशेष समय हटाइएको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्