काठमाडाैं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको भूमिका र प्रभावकारिता कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद कँडेलले यस्ताे चिन्ता व्यक्त गर्नुभएको हाे। योजना आयोगको गरिमा घट्दै गएको र राज्यका शक्तिहरू अर्थ मन्त्रालयमा मात्र केन्द्रित भएको आराेप लगाउनुभयाे । सांसद कँडेलले आयोगलाई रामायणको पात्र पर्शुरामसँग तुलना गर्दै हिजोको शक्ति र सामथ्र्य अहिले बाँकी नरहेको टिप्पणी गर्नुभएकाे छ । उहाँले तथ्यांक कार्यालयलाई योजना आयोगकै अंगका रूपमा राख्ने तयारी भएपनि ऐन निर्माणका क्रममा प्रधानमन्त्री कार्यालय मातहत पुर्याइएकोमा असन्तुष्टि जनाउनुभयो ।
नीति अनुसन्धान प्रतिष्ठान र तथ्यांक कार्यालयलाई योजना आयोग मातहत ल्याउनसके मात्र आयोगको गरिमा बढ्ने र अनुसन्धानका कार्यहरू प्रभावकारी हुने सांसद कँडेलको तर्क छ । संघ र प्रदेश तहका योजना आयोगहरूबीच आवश्यक समन्वयकारी संयन्त्रको अभाव रहेको समेत उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय गौरवका आयोजनाहरूको सुस्त गति र अन्योलका बारेमा चर्चा गर्दै उहाँले मध्यपहाडी लोकमार्गको धादिङ खण्डको उदाहरण दिनुभएकाे छ।
बुढीगण्डकी आयोजनाका कारण उक्त खण्डको निर्माण कार्य रोकिएको र ऊर्जा मन्त्रालयको समन्वय अभावमा काम अघि बढ्न नसकेको सांसद कँडेलले बताउनुभयो । त्यस्तै, लुम्बिनी विकास कोषको काम पाँच वर्ष बित्दा पनि सम्पन्न हुन नसकेको, काठमाडौं मेट्रो र पूर्व–पश्चिम रेलमार्गको प्रगति न्युन रहेको तथा गल्छी–स्याफ्रुबेसी सडक खण्डको काम ठेकेदारका कारण अलपत्र परेको उहाँले बताउनुभएकाे छ।
सांसद कँडेलले बजेट विनियोजन र स्रोत व्यवस्थापनमा गम्भीर त्रुटी रहेको दावी गर्नुभयो । प्रोजेक्ट बैंकमा रहेका योजनाहरूभन्दा बाहिरका ५ देखि १५ लाख रुपैयाँका हजारौँ टुक्रे आयोजनाहरूमा बजेट छर्ने प्रवृत्तिले गर्दा एकातिर पूँजीगत खर्च हुन नसकेको र अर्कोतिर विकासको ठोस नतिजा नदेखिएको उहाँको ठहर छ ।
सांसद कँडेललेआयोजनाहरूको प्राथमिकीकरण नहुँदा र अर्थ मन्त्रालयमा मात्र अधिकार केन्द्रित हुँदा विकास निर्माणका काममा बाधा पुगेको बताउनुभयो।









प्रतिक्रिया दिनुहोस्