Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्‍याउन सकेनन्: नेकपा सांसद तामाङ

उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाउनुपर्नेमा जोड

0
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पर्शुराम तामाङले राष्ट्रिय गौरवका आयोजनाहरूले उत्पादन र रोजगारीको क्षेत्रमा अपेक्षित योगदान पुर्‍याउन नसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सांसद तामाङले ठूला आयोजनाहरूले मुलुकको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारे भन्ने विषयमा गहन विश्लेषणको अभाव रहेको उल्लेख गर्नुभयाे । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा तामाङले आयोजनाहरूले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई मुख्य उद्देश्य बनाउनुपर्नेमा जोड दिनुभएकाे छ।

सांसद तामाङले पछिल्लो समय जीडीपीमा वृद्धि देखिए पनि कृषि र औद्योगिक क्षेत्रको योगदान घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अर्थतन्त्र केवल सेवा क्षेत्रमा मात्र निर्भर रहनु जोखिमपूर्ण हुने उल्लेख गर्नुभएकाे छ। पहाडी क्षेत्रको बसाइँसराइ र बाँझो जमिनको समस्यालाई उठाउँदै तामाङले मध्यपहाडी लोकमार्ग निर्माण भएपनि सो क्षेत्रमा उत्पादनका गतिविधि ठप्प रहेको बताउनुभयो । उहाँले २७ वटा ठूला आयोजनामध्ये कृषि र खानी क्षेत्रका दुई वटा मात्रै आयोजना समेटिनुले आर्थिक क्षेत्रमा आयोजनाहरूको सन्तुलन नमिलेको तर्क गर्नुभएकाे छ।

सांसद तामाङले अधिका‌श उद्योगहरू तराई तथा सीमा क्षेत्रमा मात्र केन्द्रित भएको र मध्यपहाडी क्षेत्रलाई विकासको केन्द्र नबनाएसम्म हिमाल र तराईको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव नपर्ने दावी गर्नुभयो । पहाडी क्षेत्रको अर्थतन्त्रलाई पुनरुत्थान गर्न र बसाइँसराई रोक्न विशेष कार्यक्रम ल्याउन उहाँले योजना आयोगको ध्यानाकर्षण गराउनुभएकाे छ।