२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


२७ वर्ष पुरानो योजना बल्ल पुरा, स्थानीयबासीमा खुशीयाली


0
Shares

बाँफिकोट डाँडामा खानेपानीसहितको सिंचाई सुविधा पुगेपछि गाउँलेमा खुसीयाली छाएको हो । यहाँ एकैसाथ सिंचाई गर्न मिल्ने गरी खानेपानी आयोजना सञ्चालनमा आएको हो ।

खानेपानी आयोजना सञ्चालनमा आएसँगै पानीका लागि हरेक दिन बिहान–बेलुका घण्टौंसम्म पालो कुर्नुपर्ने समस्या अन्त्य भएको छ भने एक घण्टा दुरीबाट पानी ल्याउनुपर्ने बाध्यता पनि टरेको छ ।

एकाएक घर आँगनमै सिंचाईसहितको खानेपानी पुगेपछि हाल बाँफिकोटबासी खुशी भएका छन् । सिँचाई–खानेपानी आयोजनाको साढे ५ करोड रुपैयाँको लागतमा कालाखोला दोमई सिंचाई जलउपभोक्ता समितिले गत मंसिरबाट काम सुरु गरेर बाँफिकोट डाँडामा केही दिनअघि मात्र पानी पुर्‍याएको हो ।

यसअघि खानेपानीको सधैं हाहाकार हुने बाँफिकोटमा साढे ६ किलोमिटर टाढा रहेको मुहानबाट सिंचाईका लागि समेत पुग्ने गरी पानी पुर्‍याइएको हो । २०४७ सालमै खानेपानी तथा सिंचाईका लागि यो आयोजनाको सर्वे गरिएको थियो । तर काम भने हुन सकेको थिएन ।

वर्षौंसम्मको कसरतपछि २ सय ५० भन्दा बढी घरधुरीलाई पुग्ने गरी बाँफिकोट डाँडामा सिंचाई गर्न मिल्ने खानेपानी पुगेसँगै स्थानीय दंग परेका छन् ।