Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


रसुवा–भोटेकोसी बाढीपीडित परिवारलाई रेडक्रसले प्रतिपरिवार १ लाख रुपैयाँ दिने


0
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहयोग उपलब्ध गराउने भएको छ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा उक्त सहयोग घोषणा गरेका हुन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित ‘समुन्नति कार्यक्रम’मार्फत प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराइनेछ।

यसका लागि मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा.विशालकुमार भण्डारीबीच सम्झौतासमेत भएको छ।

सम्झौताअनुसार बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारले उक्त नगद सहायता प्राप्त गर्नेछन्। तत्कालीन तथा प्राथमिक आवश्यकता पूरा गर्न तथा प्रभावित परिवारको जीवनयापन सहज बनाउन सहयोग पुग्ने उद्देश्यले सहायता प्रदान गर्न लागिएको रेडक्रसले जनाएको छ।

नगद सहयोगले प्रभावित परिवारको पुनर्लाभ तथा पुनःस्थापनाका काममा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।